काठमाडौं । अविश्वासको प्रस्ताव सम्म पुगेको फुटबल संघको विवादमा नयाँ मोड देखा परेको छ । प्रस्ताव दर्ताको करिब एक महिना पुग्नै लाग्दा विवादमा नयाँ मोड आएको हो । प्रस्तावलाई असफल बनाउन एन्फा नेतृत्व असन्तुष्ट पक्षका विभिन्न समूहसँग बार्गेनिङमा छ ।
एन्फा निकट स्रोतका अनुसार अविश्वासको प्रस्ताव फेल बनाउन सत्ता पक्षले प्रमुख कार्यकारी अधिकृत (सिईओ)को पासा फ्याकेको छ । जसमा पूर्व महासचिव इन्द्रमान तुलाधरको समूहलाई सहमत बनाउन सत्ता पक्षले जोड गरिरहेको छ । तुलाधरको जोड महासचिवमै छ । हुन त अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि उनले आफुलाई भावि अध्यक्षकै रुपमा प्रस्तुत गरेका थिए । सोही अनुसार सहयोगका लागि विभिन्न क्लब र जिल्लासँग सहयोग मागेका थिए । पाए अध्यक्ष, नभए महासचिवसम्म बन्ने उनको दाउ देखिन्थ्यो ।
तर अध्यक्ष नेम्वाङले महासचिवमा किरण राई छोड्न नसक्ने भएपछि सिईओमा तुलाधरलाई ल्याउन जोड छ । एन्फा स्रोतका अनुसार तुलाधर सिईयोमा जान तयार देखिएका छन् । तर सिईओ अधिकार सहित आफ्नो समूहको ‘सेटलमेन्ट’ उनले खोजेका छन् । सिईओमै छिर्दा पाउने जिम्मेवारी, फिफा अनि एएफसीको मेलको पासवर्डमा सहज पहुँचमा उनको चासो छ ।
तुलाधर निकटका एक अधिकारीले उनी सिईओमै जान रहर गरेपनि निर्णय गरिनसकेको बताए । ‘समूहको दबाब थेग्न सकिन भन्नु भएको छ । कुरा सुन्दा उहाँले मन बनाएको देखिन्छ । सायद निर्णयनै गरिसक्नु भएको छैन ।’ उनले भने ।
अविश्वासको प्रस्ताव दर्ता भएपनि त्यो प्रस्ताव पास हुन्छ भन्ने विश्वास संस्थापन इतरको समूहलाई छैन । इतर समूहमा छुट्टै समूह चलाईरहेका इन्द्रमान एन्फा नेतृत्वसँग सम्झौता गरेर तत्काल केही लाभ उठाउने पक्षमा देखिन्छन् । उनले अध्यक्ष पंकज र पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पासँग असन्तुष्ट रहेका र आफुसँग निकट रहेका केही क्लब र जिल्लाको समर्थन बटुलेका छन् ।
इन्द्रमान समूहलाई ल्याउन सकेको खण्डमा अविश्वास प्रस्ताव फेल गराउन सकिने संस्थापन पक्षको बुझाई छ । सोही कारण अविश्वासको प्रस्तावलाई अनुशासन समितिमा पठाएर अल्झाउने र असन्तुष्ट समूहमा खेलेर प्रस्ताव फेल गराउने रणनीतिमा एन्फा नेतृत्व छ । अध्यक्ष नेम्वाङ असन्तुष्ट पक्षका केही हस्ताक्षरकर्तालाई लाभ दिएर अविश्वास प्रस्तावलाई फेल गराउन सकिनेमा विश्वस्त छन् । ‘झापालीमा पारामा सबैलाई मिलाइन्छ’ भनेर अध्यक्ष नेम्वाङले निकटवर्तीलाई सुनाउने गरेका छन् ।
आफु अनुकुलको ‘अडिटर’ भर्चुअल साधारण सभाबाट नियुक्त गर्ने एन्फा अध्यक्षको प्रयास विवादमा परेपछि क्लब तथा जिल्लाका ४९ प्रतिनिधिले नेतृत्व र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले १९ वटा आरोप लगाएर अध्यक्ष र महासचिव हटाउने प्रकृयाको थालनी गरेका थिए । प्रस्ताव दर्ताको एक महिनाभित्र साधारण सभा बैठक बोलाएर विश्वासको मत लिनुपर्ने प्रावधान एन्फा विधानमा छ ।
एन्फा साधारण सभामा अविश्वासको प्रस्ताव पारित हुन ५८ मतको आवश्यक पर्छ । एन्फामा जिल्ला, क्लब र संघ गरि ८८ सदस्यहरु छन् । अविश्वासको प्रस्तावमा ४९ जनाको हस्ताक्षर परेपछि एन्फा अध्यक्षको पद संकटमा परेको थियो । प्रस्ताव पारितका लागि इतर समूहलाई थप ९ मत आवश्यक रहेको थियो । तर इतर समूहभित्र खेलेर प्रस्ताव असफल बनाउने प्रयासमा संस्थापन पक्ष सक्रिय छ ।