काठमाडौं। चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता असोज ५ र ६ गते ललितपुरको सानेपामा आयाेजना हुने भएकाे छ ।
प्रतियोगिता च्याम्पियनले ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ। २०७१ सालबाट सुरू भएकाे प्रतियोगिता पहिलाे पटक ललितपुरमा आयाेजना हुने भएकाे हाे ।
बुल्समेन क्लब पोखराकाे आयाेजना रहेकाे प्रतियोगिताकाे तीन संस्करण पोखरामै आयोजना गरेको थियो। क्लबले २०७१ सालदेखि दुई वर्षको अन्तरमा मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको क्लबले जनाएकाे छ।
चौथो संस्करण ०७७ सालमै आयोजना गर्ने तयारी भएपनि कोभिडकै कारण प्रतियोगिता स्थगित गरिएको थियो। पहिलाे संस्करण झापाका राम दाहाल र दाेश्राे संस्करण विरगञ्जका अर्जुन वर्णवालले जितेका थिए । तेश्राे संस्करणबाट महिला प्रतियोगिता समेत थप गरिएकाे छ ।
पुरूष तर्फ काठमाडौका मिलन सिजापति र महिला विनिता राईले जितेका थिए । क्लबले आगामी असोज ४ गते सहभागि खेलाडीको तौल लिने छ। पुरुष तर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ।
असोज ५ गते प्रिजजिङ र असोज ६ गते शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा फाईनल हुने क्लबले जनाएको छ। मेन्स फिजिक तर्फ १७० सेन्टिमिटर माथि र १७० सेन्टिमिटर मुनी प्रतिस्पर्धा गराइनेछ । महिला वेल्नेस र फिजिक्समा खुल्ला प्रतिस्पर्धा हुनेछ ।
प्रतियाेगिताकाे ताैल समूह विजेताले ३५ हजार, दाेश्राेले २५ हजार र तेश्राे हुनेले २० हजार पाउनेछ । पुरूष फिजिक्स र महिला फिजिक्स विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्राे हुनेले ३५ हजार पाउनेछ । प्रतियाेगिताकाे लागि अनुमानित आम्दानी ७० लाख र खर्च ६५ लाख लाग्नेछ ।
वचत रकम शारीरिक सुगठन खेलकाे विकाससंगै वुल्समेन खेलाडी अक्षयकाेष स्थापना गरि खेलाडी हकहितमा खर्च गरिने अध्यक्ष नुना गुरूङले बताए । प्रतियाेगिताकाे ७० प्रतिशत विदेशबाट सहयाेग र ३० प्रतिशत नेपालमा संकलन गरिने उनले बताए ।
आयाेजकले मुख्य प्रायाेजक पाउने अपेक्षा भएपनि हालसम्म नपाएकाे गुरूङले बताए ।