विश्वकपमा म्याच फिक्सिङ भएन !

४८ टोलीको सहभागितामा एक महिनाभन्दा बढी समयसम्म सञ्चालन भएको फिफा विश्वकप २०२६ मा कुल १०४ खेल सम्पन्न भए।
इतिहासकै सबैभन्दा ठूलो विश्वकपका क्रममा सम्भावित ‘म्याच फिक्सिङ’ र अवैध बेटिङ गतिविधिमाथि निगरानी राख्न फिफाले गठन गरेको इन्टेग्रिटी टास्क फोर्सले प्रतियोगिताभर निगरानी गरेको थियो। जुलाई १९ मा स्पेन र अर्जेन्टिनाबीचको फाइनलसँगै विश्वकपको २३औं संस्करण सकिएपछि टास्क फोर्सले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको हो।
फिफाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वकपभर कुनै पनि खेलमा शंकास्पद बेटिङ गतिविधि वा म्याच फिक्सिङको संकेत फेला परेन। प्रतियोगिताको निष्पक्षता कायम राख्न टास्क फोर्सले विभिन्न स्रोतबाट प्राप्त सूचना संकलन, विश्लेषण र निगरानी गरेको जनाएको छ।
फिफाका अनुसार प्रतियोगिताका क्रममा प्राप्त बेटिङ निगरानीसम्बन्धी प्रतिवेदन, अन्य सान्दर्भिक सूचना र रिपोर्टिङ प्रणालीमार्फत आएका विवरणहरू केन्द्रीय रूपमा संकलन गरी निर्धारित कार्यविधिअनुसार विश्लेषण गरिएको थियो। त्यसपछि ती सूचनाहरू टास्क फोर्सका सदस्य संस्थाहरूबीच आदान–प्रदान गरिँदा सम्भावित जोखिमको छिटो पहिचान, मूल्याङ्कन र आवश्यक कदम चाल्न सहज भएको फिफाले जनाएको छ।
फिफाका सिनियर इन्टेग्रिटी म्यानेजर लियाम रिचले विश्वकपका दौरान सूचना आदान–प्रदान, जोखिम मूल्याङ्कन र समन्वित प्रतिक्रिया प्रणाली प्रभावकारी रूपमा सञ्चालन भएको बताए।
सदस्यहरूको सूचीमा एसियाली फुटबल महासंघ (एएफसी), अफ्रिकी फुटबल महासंघ (सिएएफ), दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल), युरोपेली फुटबल महासंघ (यूईएफए), कन्काकाफ, ओशेनिया फुटबल महासंघ (ओएफसी), अमेरिका, क्यानडा र मेक्सिकोका फुटबल महासंघ, एफबीआई, इन्टरपोल, संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालय (यूएनओडीसी), काउन्सिल अफ युरोप, ग्रुप अफ कोपेनहेगन, स्पोरट्राडार, इन्टरनेसनल बेटिङ इन्टेग्रिटी एसोसिएसन (आईबिआईए), युनाइटेड लोटरीज फर इन्टेग्रिटी इन स्पोर्ट्स, आईसी३६०, जिनियस स्पोर्ट्स, अमेरिकी न्याय विभाग, स्पोर्ट इन्टेग्रिटी क्यानडा, कम्पिटिसन ब्युरो क्यानडा, मेक्सिकोको फेडरल इकोनोमिक कम्पिटिसन कमिसन तथा अन्य स्वतन्त्र विज्ञहरू सहभागी थिए।














