विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

काठमाडौं। स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै २०२६ फिफा विश्वकपको उपाधि जितेपछि फिफाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समेटिएको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ।
विश्वविजेता स्पेनका तीन खेलाडीले यस उत्कृष्ट टोलीमा स्थान बनाएका छन्। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजित विश्वकपभर उत्कृष्ट प्रदर्शन गरेका सात फरक देशका खेलाडीलाई समेटेर ४–३–३ फर्मेसनमा यो टोली छनोट गरिएको हो।
स्पेनबाट डिफेन्डर मार्क कुकुरेया र पेड्रो पोरो तथा मिडफिल्डर रोड्री टोलीमा परेका छन्। रोड्रीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतियोगिताकै उत्कृष्ट खेलाडीको पुरस्कार पनि जितेका छन्।
उपविजेता अर्जेन्टिनाबाट कप्तान लिओनल मेसी र डिफेन्डर लिसान्द्रो मार्टिनेजले स्थान बनाएका छन्। मेसीले अर्को विश्वकपमा पनि आफ्नो निरन्तर उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै टोलीको आक्रमण पंक्तिमा स्थान सुरक्षित गरेका छन्।
सेमिफाइनलसम्म प्रभावशाली प्रदर्शन गरेको फ्रान्सबाट तीन खेलाडी छनोट भएका छन्। आक्रमणपंक्तिमा किलियन एमबाप्पे र माइकल ओलिसे छन् भने रक्षापंक्तिमा डायो उपामेकानो समावेश छन्।
इङ्ल्यान्डका जुड बेलिङ्घम मिडफिल्डमा छनोट भएका छन्। प्रतियोगिताभरको निरन्तर उत्कृष्ट प्रदर्शनका साथै मिडफिल्डर भएर पनि एकै विश्वकपमा सात गोल गर्दै उनले नयाँ कीर्तिमान समेत बनाएका छन्।
स्ट्राइकरका रूपमा नर्वेका एर्लिङ हालान्डले स्थान बनाएका छन्। प्रतियोगिताभर लगातार गोल गर्दै उनी विश्वकपका सबैभन्दा चर्चित खेलाडीमध्ये एक बने।
गोलरक्षकको स्थान भने ४० वर्षीय केप भर्डेका अनुभवी भोजिन्हाले सुरक्षित गरेका छन्। उनले प्रतियोगिताभर उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको ऐतिहासिक विश्वकप यात्रामा महत्त्वपूर्ण योगदान दिएका थिए। स्पेन, उरुग्वे, साउदी अरेबिया र अर्जेन्टिनाविरुद्ध उनको प्रदर्शन विशेष रूपमा प्रशंसित रह्यो।
२०२६ फिफा विश्वकप ‘टिम अफ द टुर्नामेन्ट’ (४–३–३)
गोलरक्षक:
भोजिन्हा (केप भर्डे)
डिफेन्डर:
पेड्रो पोरो (स्पेन)
डायो उपामेकानो (फ्रान्स)
लिसान्द्रो मार्टिनेज (अर्जेन्टिना)
मार्क कुकुरेया (स्पेन)
मिडफिल्डर:
रोड्री (स्पेन)
जुड बेलिङ्घम (इङ्ल्यान्ड)
माइकल ओलिसे (फ्रान्स)
फरवार्ड:
लिओनल मेसी (अर्जेन्टिना)
एर्लिङ हालान्ड (नर्वे)
किलियन एमबाप्पे (फ्रान्स)












