नेपालको लगातार दोस्रो हार
बिहिबार, ०७ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिस २०२६ मा लगातार दोस्रो हार बेहोरेको छ।
इस्लामावादस्थित लियाकत व्यायामशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा श्रीलंकासँग नेपाल ३–२ को सेटमा पराजित भएको हो। योसँगै नेपालले लगातार दोस्रो हार बेहोरेको छ।
नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। निकै नै रोमाञ्चक खेलमा नेपालले पहिलो सेट २५–१८ ले गुमाएको थियो। तर, त्यसपछिका दुई सेट २१–२५ र १९–२५ ले आफ्नो बनायो।
योसँगै नेपालले खेलमा १–२ को अग्रता बनाएको थियो। तर, चौथो सेट २५–२१ ले सुम्पिन पुग्दा खेल पाँचौं सेटमा धकेलियो। उक्त अन्तिम सेटमा भने श्रीलंकाले सानदार खेल प्रदर्शन गर्दै १५–१० को जित हात पार्यो।
नेपालले अब आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ।














