भुपेश उपाध्याय ।
काठमाडौं । असन्तुष्ट पक्षले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिव बर्खास्तीको माग गर्दै निवेदन दर्ता गरेका छन् ।
एन्फाको इतर पक्षका बहुमत सदस्यले एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित निवेदन दर्ता गराएका हुन् ।
एन्फाका ४९ जना सदस्यले हस्ताक्षर गरेर एन्फा नेतृत्वविरुद्ध निवेदन दर्ता गराएका हुन् ।
पूर्व महासचिव इन्द्रमान तुलाधरले अवैधानिक रुपमा आयोजना गर्न लागिएको विशेष साधारण सभा रोक्ने मागलाई वेवास्ता गरिएका कारण विधान अनुसार अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तीको निवेदन दिन लागिएको बताए ।
उनले वर्तमान नेतृत्वबाट एन्फा चल्न नसकेको उल्लेख गर्दै फुटबललाई बचाउन विधान अनुसार सो कदम चाल्नुपरेको दाबी गरेका छन् ।
एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार सहितका नेताहरु एन्फा कम्प्लेक्स पुगेर अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता गरेका हुन् ।
एन्फा विधानमा ४० प्रतिशत सदस्यले विशेष साधारण सभा बोलाउन लिखित रुपमा माग गरेमा कार्यसमितिले ३० दिनभित्र विशेष साधारण सभा बैठक आहवान गर्नुपर्ने उल्लेख छ ।
विधानले साधारण सभालाई अध्यक्ष, उपाध्यक्ष, महसाचिव, सदस्य सहितलाई बर्खास्त गर्ने अधिकार दिएको छ ।
एन्फा नेतृत्वमा आएको एक वर्ष पुरा गरेका नेम्वाङ प्रारम्भिक रुपमा एन्फामा प्रस्ट रुपमा अल्पमतमा परेका छन् ।