काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं मास्टर्स मिट तथा दोश्रो राष्ट्रिय रेफ्री सेमिनारको सोमबार उद्घाटन गरेका छन् ।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।
मास्टर्स मिटमा विभिन्न ५ प्रदेशका २ सय ५० जनाको सहभागिता रहेको नेपाल कराते महासंघका वरिष्ठ उपाधयक्ष समेत रहेका वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् ।
पहिलोदेखि पाँचौं डानसम्मका मास्टर्स मिटमा सहभागी छन् । रेफ्री सेमिनारमा पनि ५ प्रदेशका ५० जना सहभागी छन् । कार्यक्रम मंगलबार सम्पन्न हुनेछ ।
बुधाबार वादोरियो कराते संघको साधारण सभा तथा निर्वाचन पनि काठमाडौंमा हुँदैछ । साधारण सभाका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको प्रमुख प्रशिक्षक केसीले जानकारी गराए ।
कार्यक्रममा राखेप बोर्ड सदस्य अन्जन धमला, सम्राट कुसारी सहितका पदाधिकारी समेत सम्मिलित थिए ।