काठमाडौं । दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ ।
नेपाल कुराँश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता कोशी प्रदेशस्थित सुनसरीको धरानमा हुँदै छ।
पुरूष र महिला दुवैमा जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए । अन्तराष्ट्रिय कुराँश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर प्राविधिक सहयोग र प्रतियोगिता अवलोकन गर्न नेपाल आउने संघले जानकारी दिएको छ ।
महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।
महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुनेछ । पुरूष जुनियरमा भने सात तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ। जसअन्तर्गत २५ केजीमुनि, ३० केजीमुनी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
पुरूषको सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजी मुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तीनदिने प्रतियोगितामा कुल एक सय खेलाडीले कुल ३१ स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गर्दैछन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिससहित सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल कुराँश संघले जनाएको छ । प्रतियोगितामा करिब २० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।