काठमाडौं । विजय राई र अर्पणा तामाङले दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ५५ केजी तौलसमूको पुरुषमा विजय तथा महिलामा अर्पणाले स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे ।
इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगिताको ६० केजी पुरुषमा राजेन्द्र तामाङ र महिलामा प्रजिना राई, ४५ केजीको पुरुषमा शेख रिज्वान र महिलामा शिवानी आले मगर तथा ५० केजीको पुरुषमा मोहम्मद इरफान शेख र महिलामा आरती लोप्चनले पहिलो स्थान हात पारे ।
पुरुष ६५ केजीमा महेन्द्र गज्मेर तथा महिला ६० केजीमाथि अनुपा नेपालीले स्वर्ण चुमे । विजेतालाई संघीय सांसद् नारायण दाहाल, आयोजक संघकी अध्यक्ष अमृता थापा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरियो । दुईदिने प्रतियोगितामा १ सय २५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।