काठमाडौं । नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ।
नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र सदभाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार ७-अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७-अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई स्वर्ण दिलाएका हुन्।
सुबाशले ४-अन्डर ६८ र सदभावले ३-अन्डर ६९ स्कोर गरे। सुबाश र सदभावले यसअघि गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसीपमा पनि टिमतर्फ स्वर्ण पदक जितेका थिए।
समग्रमा ३-अन्डर २ सय ८५ सहित भारतले रजत पदक प्राप्त गर्यो। आज सुमित कोटवालले ८-अन्डर ६४ र सुरज जोशीले २-ओभर ७४ स्कोर गरे। यो जोडीले आज भारतको लागि ६-अन्डर १ सय ३८ स्कोर जोड्दै दोस्रो स्थान प्राप्त गरेको हो। समग्रमा ५-ओभर २ सय ९३ सहित भुटानले कास्य पदक हात पार्यो। आज ७-ओभर १ सय ५१ स्कोर बनाउने क्रममा उगेन दोर्जीले १-अन्डर ७१ र कर्मा दोर्जी खोर्कोले ८-ओभर ८० मा खेल सकाए।
प्रतियोगिताको व्यक्तिगततर्फ भारतीय सुमित कोटवाल ८-अन्डर ६४ को सानदार स्कोरमा शीर्षस्थानमा उक्लिएका छन्। उनले समग्रमा १२-अन्डर १ सय ३२ सहित पहिलो दिनका लिडर नेपालका सुबाश तामाङलाई दुई स्ट्रोकले पछि पारे। ४-अन्डर ६८ को कार्ड बनाएका सुबाशले समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर बनाउँदा दोस्रो स्थानमा तल झरे। राष्ट्रिय टिमका सदस्य सदभाव आचार्यले आज ३-अन्डर ६९ को स्कोर निकाले। समग्रमा ७-अन्डर १ सय ३७ सहित उनी तेस्रो स्थानमा छन्।
यसैगरी भुटानका उगेन दोर्जी समग्रमा ४-अन्डर १ सय ४० सहित चौथो, नेपालका टासी छिरिङ र भारतका बरूण मुथप्पा समग्रमा २-अन्डर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे। यस्तै नेपालका वाङचेन ढोन्डुप र बंगलादेशका मोहम्मद सुमोन समग्रमा १-ओभर १ सय ४५ सहित सातौं तथा पाकिस्तान उमैर सलिम र नेपालका टासी डोङले समग्रमा ५-ओभर १ सय ४९ स्कोरका साथ संयुक्तरुपमा नवौं स्थान बाँडे।
भारतका सुमितले बोगी रहित ८-अन्डरको स्कोर बनाउँदा फ्रन्ट र ब्याक नाइन दुवै ४-अन्डर ३२ मा सकाए। उनले दोस्रो, चौंथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। त्यसपछि उनले १०औं, १४औं, १५औं र १८औं होलमा पनि एक-एक सट बचाए।
सुबाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गरे। पहिलो होलमा बोगी खेपेका उनले ५-पारको तेस्रो होलमा ईगलको सफलता प्राप्त गरे। सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि ११औं, १४औ र १८औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।
सदभावले बोगी रहित राउण्ड खेले। फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३६ मा सकाए। उनले तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइनको सबै होलमा पार बचाए।
महिलातर्फ कश्मीरा शाहले ८-ओभर ८० स्कोर गरिन्। समग्रमा १४-ओभर १ सय ५८ सहित शीर्षस्थानमा उक्लिएकी छिन्। उनले पहिलो दिनकी लिडर सुष्मा सिग्देललाई ३ स्ट्रोकले पछि पारेकी छिन्। सुष्माले आज १२-ओभर ८४ स्कोर गर्दा समग्रमा १७-ओभर १ सय ६१ मा ३६ होलको खेल पुरा गरिन्। १४-ओभर ८६ सहित समग्रमा ४०-ओभर १ सय ८४ सहित तेस्रो स्थानमा रहेकी छिन्।
३६ होलको समाप्तीमा २०-ओभर १ सय ६४ सम्मको स्कोर बनाएका ३० खेलाडीले कट बनाएका छन्। जसमा १६ जना नेपाली खेलाडी रहेका छन्।
नेपाल गल्फ संघ र नेपाल टुरिजम बोर्डद्वारा सम्युक्तरुपमा आयोजित प्रतियोगितामा ४४ पुरुष र सात महिला गरी ५१ गल्फ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी तीन स्पर्धामा प्रतिस्पर्धा भैरहेको छ। ५४ होलको प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहेको छ।
प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकूद परिषद्, वाग्मती प्रदेश खेलकूद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीको सहयोग रहेको छ।