काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज मंगलबार हुँदैछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने फाइनलमा साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
एपीएफ उपाधि रक्षाको योजनासहित कोर्टमा उत्रिनेछ । न्यु डायमण्ड नयाँ च्याम्पियन बन्ने योजनामा हुनेछ ।
चार टोली सहभागी प्रतियोगितामा न्यु डायमण्ड अपराजित रहदै फाइनल पुगेको हो । सोमबार न्यु डायमण्डले लिग खेलमा एपीएफलाई ३-१ को सेटमा हराएको थियो ।
एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।
प्रतियोगिताको तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानको लागि हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।
एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।