काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार पुलिसले आर्मीलाई ३-१ को सेटमा हराएको हो ।
पुलिसले पहिलो सेट २६-२४ ले गुमाएको थियो । त्यसपछिको सेट २६-२४,२६-२४ र २५-२० ले जित्दै पुलिसले खेल आफ्नो बनाएको हो ।
अब पुलिसले मंगलबार आर्मीसँगै तेस्रो स्थानका लागि खेल्नेछ ।
उपाधिका लागि न्यु डायमण्ड र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।