काठमाडौं । साविक विजेता एपीएफ क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
एपीएफले पुलिसमाथि २५-२०,२५-२१ र २५-२१ को जित निकालेको हो ।
जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । पुलिसले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
यस अघि पहिलो खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबले जित निकालेको थियो ।
उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो ।
सुखद सुरुआत गर्ने क्रममा न्यु डायमण्डले आर्मीलाई २५-२०,२५-१४ र २५-१० ले हराएको हो ।
जितसँगै न्यु डायमण्डले पहिलो खेलमा ३ अंक जोडेको छ । आर्मीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने छन् ।
यस्तै दोस्रो खेलमा पुलिस र न्यु डायमण्डबीच खेल हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधिका लागि खेल्नेछ ।
प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।