काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो ।
सुखद सुरुआत गर्ने क्रममा न्यु डायमण्डले आर्मीलाई २५-२०,२५-१४ र २५-१० ले हराएको हो ।
जितसँगै न्यु डायमण्डले पहिलो खेलमा ३ अंक जोडेको छ । आर्मीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा साविक विजेता एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधिका लागि खेल्नेछ ।
प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।