काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलीबाट हुने भएको छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजन रहेकोछ ।
प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराईनेछ ।
माघ २४ गतेसम्म आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।
करिब ४० लाखको अनुमानित खर्च रहेको प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिने खड्काले जानकारी दिए ।
यसैगरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित पनि गरिने भएको छ ।
प्रतियोगिताको भोली शनिबार १२ बजे प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङबाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ ।