सबिन रेग्मी, पोखरा ।
पाँचौ सामुदायिक बिद्यालय स्तरीय सृजना कप भलिबल प्रतियोगिता फागुन १६ देखी १९ गते सम्म हुने भएको छ ।
सृजना बिकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक बिद्यालयका छात्र,छात्राले मात्र भाग लिन पाउने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
प्रतियोगितामा कक्षा १२ सम्मका बिद्यार्थीहरुले मात्र भाग लिन पाउने र ५० टिमको सहभागिता रहने संयोजक मिन प्रसाद भट्टराईले बताए ।
प्रतियोगिताको उपाधि बिजेता छात्र,तथा छात्रा दुबै तर्फको बिजेताले एक/एक लाख तथा उपबिजेताले समान ६०/६० हजार र तृतीय हुने ३५/३५ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा सर्बोत्कृष्ट छात्र तथा छात्रा दुबै खेलाडीले ५/५ हजारको साथमा ट्रफि र अन्य बिधाहरुमा वेष्ट स्पाइकर,बेष्ट ब्लकर,बेष्ट डिफेन्डर,बेष्ट सर्भरले १/१ थान भलिबल प्राप्त गर्ने छन् ।
त्यस्तै बेष्ट प्रशिक्षकले पाँच हजार प्राप्त गर्ने सहसंयोजक लेखनाथ लम्सालले बताए ।
पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने प्रतियोगिता मा करिब ११ लाख खर्च लाग्ने र प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी गरि १ लाख ५० हजार रुपैँया बचत हुने संयोजक भट्टराईले बताए।
२०३७ सालमा स्थापित सृजना बिकास केन्द्रले महिला,बालबलिका,शिक्षा ,स्वाथ्य र खेलकुदको क्षेत्रमा काम गदै आएको छ ।