काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तेस्रो स्थान हात पारेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा शनिबार तेस्रो स्थानका लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले तेस्रो स्थान प्राप्त गरेको हो ।
पहिलो सेट २२-२५ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो भएको हो । पुलिसले दोस्रो,तेस्रो र चौथो सेट २५–१८,२५–२१ र २५-२० को सेटमा हराउन सफल भयो । हारसँगै आर्मीले चौथो स्थान हासिल गरेको छ ।
प्रतियोगिता अन्तर्गत नै शनिबार महिला तथा पुरुषतर्फको फाइनल खेल पनि हुदैछ ।
महिलातर्फको फाइनलमा दुई विभागिय टोलीहरु नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
पुरुषतर्फ भने विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।