काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि दिनेश प्रजापति र रमेश अधिकारी भिड्ने भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा १३ औं वरीयताका रमेश अधिकारीले १० औं वरीयताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।
यसैगरी अर्को सेमिफाइनलमा सातौं वरीयताका दिनेश प्रजापतिले आठौं वरीयताका धन बहादुर थापालाई २/१ ले हराएर फाइनलको यात्रा तय गरे।
दिनेश र रमेशले उपाधिका लागि भोली ३६-होलको प्रतिस्पर्धा गर्नेछन् भने धन र भुवनले तेश्रो स्थानका लागि १८ होलको खेल खेल्नेछन्।
यसअघि आजै भएको क्वाटरफाइनलमा अप्रत्याशित नतिजा आएका छन्। जहाँ नेपाल नम्बर एक खेलाडी शुक्र बहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौ वरीयताका रबि खड्का पराजित भए।
शुक्रलाई वरीयताका १० औं स्थानमा रहेका भुवन कुमार रोक्काले ३/१ ले हराए । अर्को क्वाटरफाइनलमा धन बहादुर थापाले भुवनलाई ३/२ ले हराउदै अन्तिम चारमा स्थान बनाएका थिए।
यसैगरी दिनेश प्रजापतिले तेस्रो वरीयताका जयराम श्रेष्ठलाई ३/२ ले हराए। पूर्व नम्बर एक खेलाडी रबि खड्काको चुनौती १३ वौं वरीयताका रमेश अधिकारीले समाप्त पारीदिए। रमेशले पाँचौ वरीयताका रबिलाई ३/२ को नतिजामा पाखा लगाए ।
गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ।
विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन्। तेश्रो र चौंथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन्।