सुर्य नेपाल एनपीजीए म्याच प्ले : क्वाटरफाइनल समिकरण पूरा

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनल समिकरण पूरा भएको छ।
नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई,दोस्रो वरियताका साविक विजेता भुवन नगरकोटी तथा रबि खड्का, रमेश अधिकारी, धन बहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाएका छन् ।
शुक्रले २० औं वरीयताका टंक बहादुर कार्कीलाई सहजै ५÷४ ले हराए । शुक्रले क्वाटरफाइनलमा १० औं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । भुवनले नवौं वरीयताका रामे मगरलाई २÷१ ले माथ दिए।
दोस्रो वरीयताका भुवन नगरकोटीले भने १९ औं वरीयताका सञ्जोक मोक्तानलाई २÷१ ले हराए । उनले अब आठौं वरीयताका धन बहादुर थापासँग खेल्नेछन् । धनले पहिलो चरणमा ११औं वरीयताका धरानका बलभद्र राईलाई ३÷२ ले पराजित गरे।
यसैगरी तेस्रो वरीयताका जयराम श्रेष्ठले क्वाटरफाइनलमा पुग्ने क्रममा १७ औं वरीयताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१–अप) पराजित गरे। उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन्। दिनेशले पनि अन्तिम होलमा १२ औं वरीयताका सुर्य प्रसाद शर्मालाई पराजित गरे।
अर्को खेलमा पाँचौ वरीयताका रबि खड्काले १५ औं वरीयताका प्रदीप कुमार लामालाई २÷१ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरे। उनले १३ औं वरीयताका रमेश अधिकारीसँग खेल्नेछन्। रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरीयताका सञ्जय लामालाई ३÷१ ले माथ दिए।
गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् ।
सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ।
विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन् । तेश्रो र चौंथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।
क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।