काठमाडौं । भक्तपुरमा भएको डोरी तान्ने प्रतियोगितामा पुरुषतर्फ सिद्धि गणेश साकोस कर्मचारी समूह प्रथम भएका छन् ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा संस्थाको लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा जागरुक युवा बचत समूह द्धितीय भए ।
यस्तै महिला विधामा आदर्श बचत समूह प्रथम र सिद्धि गणेश कर्मचारी समूह “क” द्वितीय हुन सफल भए । विजेतालहरुलाई प्रमाणपत्र, मेडलसँगै नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लाखाले खेलले व्यक्तिलाई अनुशासन, कडा परिश्रम, मित्रता तथा सदाचार जस्ता गुण दिनुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले भविष्यमा पनि खेलकुद प्रतियोगिता हुनेमा विश्वास व्यक्त गरे ।
संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले सिद्धि गणेश साकोस वित्तीय संस्था भए पनि सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको र डोरी तान्ने प्रतियोगिता पनि त्यसैका एउटा भागरहेको बताए ।
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सञ्चालक रत्नश्वरी चवालले प्रतियोगितामा हारजित भइरहने र खेलुकुदलाई मनोरञ्जनसँगै स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिइन् ।