काठमाडौं । अन्नपूर्ण क्लब (आरसिटी) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा बुधबारबाट आरसिटी खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
पहिलो र दोस्रो चरणको खेल सम्पन्न हुँदा प्रतियोगिताका शीर्ष वरीयताका खेलाडीहरु फिडे मास्टर रुपेश जैशवाल, क्षितिज भण्डारी, नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, पूर्व नेपाल च्याम्पियन सुरविर लामा, पुण्यमान कर्माचार्य, नविन तण्डुकारले दुवै खेलमा जित निकाल्दै २ अंक जोडेका छन् ।
ज्याठास्थित अन्नपूर्ण उच्च माविको हलमा संचालन भएको प्रतियोगितामा चितवनका अर्जुन घिमिरे, ललितपुरका सरोज महर्जन, भक्तपुरका गणेशमान दुवाल , काठमाडौंका सुदिप तामाङ, राजन पुरी, पुरुषोत्तम सिलवाल, भगवती प्रसाद शर्मा, जनार्दन श्रेष्ठ, दोलखाका राजिव कार्कीले पनि दुवै चरणको खेलमा सफलता हात पार्दै २ अंक नै जोडेका छन् ।
क्लबका अध्यक्ष सुरेशकुमार शाक्यको सभापतित्वमा भएको प्रतियोगिताको महानगरपालिका २७ नं वडा अध्यक्ष योगेशकुमार खड्गी र नेपाल बुद्धिचाल संघका अध्यक्ष बिदुर प्रसाद गौतमले चेसको गोटी चालेर संयुक्त रूपमा उद्घाटन गरेका थिए।
स्विस लिग प्रणाली अनसार नवौं चरणसम्म हुने प्रतियोगितामा ४० जिल्लाका १३२ जना खेलाडीहरुको सहभागिता रहेका छन्।
प्रतियोगिता अन्तर्गत बिहीबार तेस्रो ,चौथो र पाँचौ चरणका खेलहरु हुनेछन् ।