काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनको मुद्दामा बिहीबार सुनवाई हुन सकेन ।
सन्दीपको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो ।
तर, पाँचौं नम्बरमा रहेको सन्दीपको मुद्दा 'हेर्न नभ्याईएको' सूचीमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसकाविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।