काठमाडौं । नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ ।
पुलिसले आइतबार प्रहरी प्रधान कार्यालयमा खेलाडी तथा अफिसियललाई सम्मान गरेको हो ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पदक विजेता पुलिस क्लबमा आवद्ध खेलाडी, नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरू तथा अफिसियलहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे ।
गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म आयोजना भएको नवौंमा पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कुल १ सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको थियो।
पुलिसले एकल इभेन्ट्समा स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ, रजत पदक विजेतालाई ७ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ५ हजार रुपैयाँ एवम् टिम इभेन्ट्सतर्फ स्वर्ण पदक विजेतालाई ७ हजार रुपैयाँ, रजत पदक विजेतालाई ५ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३ हजार रूपैयाँ प्रदान गरेको हो ।
यसैगरी विभिन्न खेलहरूमा राष्ट्रिय कीर्तिमान राख्न सफल ८ जना खेलाडीहरुलाई जनही थप नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट २९ खेलमा ४ सय ९५ जना खेलाडीहरू सहभागी भएका थिए । जसमध्ये १९८ जना महिला र २९७ जना पुरुष खेलाडी थिए भने ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो ।