काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन ४-अन्डर ६४ को स्कोर गर्दै समग्रमा १०-अन्डर १ सय २६ सहित रबि खड्काले अग्रता कायमै राख्न सफल भएका छन्।
३६ होलको समाप्तिमा रबिले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन्।
लिडर रबिलाई दबाब दिएका भुवनले दोस्रो दिन रबिले जतिकै ४-अन्डर ६४ अंक जोड्दा समग्रमा ९-अन्डर १ सय २७ को स्कोरमा दोस्रो स्थानमा छन्।
लगातार दोश्रो दिन १-अन्डर ६७ खेल्दै समग्रमा २-अन्डर १ सय ३४ स्कोरका साथ रमेश अधिकारी तेस्रो स्थानमा उक्लिएका छन्। शुक्र बहादुर राई, प्रदीप कुमार लामा र राजेन्द्र श्रेष्ठ प्रधान समग्रमा इभन पार १ सय ३६ को स्कोरमा संयुक्तरुपमा चौंथो स्थानमा छन्। दाबेदार मानिएका शुक्रले खराब प्रदर्शन गर्ने क्रममा ३-ओभर ७१ मा दोस्रो दिनको खेल सकाए। प्रदीप र राजेन्द्रले समान २-अन्डर ६६ को स्कोर कार्ड तयार पारे।
यसैगरी समग्रमा १-ओभर १ सय ३७ सहित कृष्णमान राजबाहक सातौं तथा २-ओभर १ सय ३८ को नतिजामा सुर्य प्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।
रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगिताको दोस्रो दिन पनि रबिले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए। पहिलो, तेस्रो, चौंथो र छैटौं होलमा बर्डी प्रहार गर्दा नवौं होलमा एक सट खेर फाले। चनले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए। यसपछि १४औं र १७औं होलमा एक-एक सट बचाए पनि १६औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३३मा पुरा गरे।
भुवनले आज बोगीरहित राउण्ड खेले। उनले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाउने क्रममा दोस्रो, चौंथो र पाँचौ होलमा बर्डी प्रहार गरे। यसपछि १५औं होलको अर्को बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए।
तेस्रो स्थानमा उक्लिएका रमेश अधिकारीले १-अन्डर ६७ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन १(-अन्डर ३३ मा पुरा गरे। उनले पहिलो, तेस्रो, चौथो र नवौ होलमा बर्डी प्रहार गर्दा सातौ होलमा बोगी र पाँचौ होलमा डबल बोगीको सामना गरे। ब्याक नाइन इभन-पार ३४ मा सकाए। ११औं र १३औं होलमा एक-एक सट बचाए भने १५औं र १७औं होलमा एक-एक सट खेर फाले।
एमेच्योरतर्फ अजित बिके समग्रमा ६-ओभर १ सय ४२ सहित शीर्ष स्थानमा छन्। उनले आज ४-ओभर ७२ मा खेल सकाए। दोस्रो स्थानमा रहेका सुरेश तामाङ र तेश्रो स्थानका प्रज्जवल गुरुङ अजित भन्दा १७ स्ट्रोकले पछि छन्।
३६ होलको खेल सकिदा १५-ओभर १५१ सम्म स्कोर बनाउने २१ प्रोफेसनल खेलाडीले कट बनाएका छन्। एमेच्योरतर्फ भने चार खेलाडीले कट बनाउदा कुल २५ खेलाडी अन्तिम दुई चरणको खेलको लागि छनौट भएका छन्।
कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।