काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता भोलि मंगलबारबाट सुरु हुने भएको छ ।
नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै सुर्य नेपाल काठमाडौं ओपन मंगलबारबाट सुरु हुने जनाएको छ।
प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा नेपालका नम्बर एक शुक्र बहादुर राई, भुवन नगरकोटी, संजय लामा, धन थापा, रामे थापा लगायतले प्रतिस्पर्धा गर्ने छन् ।
विजेताले १ लाख १६ हजार नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ७४ हजार तथा तेस्रोले ६३ हजार पाउनेछन्।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।