काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा कर्णाली प्रदेशलाई हस्तान्तरण गरिएको छ ।
बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन समारोह कार्यक्रममा प्रमुख अतिथी शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक तथा प्रधानमनन्त्री देउवाले प्रतियोगिता आयोजनाको झण्डा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई हस्तान्तरण गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।
बुधबारको राखेप बोर्ड बैठकले प्रतियोगिता आयोजनाको जिम्मेवारी र आयोजनाको वर्षको विषयमा औपचारिक निर्णय गरेको हो ।
बैठकले दशौंको मिति र एघारौंको आयोजनाको सन्दर्भमा छलफल चलाउँदै अघि बढ्ने निर्णय गरेको छ ।