पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित कोर्टमा मंगलबार भएको तेस्रो क्वाटरफाईनल खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । एपीएफले ३–१ को सेटमा जित निकालेको हो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २८-२६ ले जितेको थियो । तेस्रो सेट भने लुम्बिनीले २५-२३ ले जित्यो । चौथो सेटमा एपीएफले २५-१७ ले जितेर अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
एपीएफले मंगलबार हुने अन्तिम क्वाटरफाईनलको बिजेतासँग सेमिफाइनलमा खेल्नेछ । लुम्बिनी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
मंगलबार नै चौंथो तथा अन्तिम क्वाटरफाईनल खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर एकबीच हुनेछ ।
लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल केही समयका लागि स्थगित भएको थियो ।
खेलाडीकै विरोधपछि म्याट झिकेर खेलाइएको थियो । राष्ट्रिय प्रतियोगिता भएतापनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन ।
भलिबलका लागि भनेर ल्याइएको म्याट सेपाकताक्रो खेलको लागि नवलपुर पुगेको छ । नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको थियो ।
पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।