पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा तीन खेलाडी घाइते भएपछि म्याट निकालिएको छ ।
पोखरा रंगशालामा एपीएफ र लुम्बिनी प्रदेशबीचको खेल दौरान म्याट नमिलेको कारण तीन खेलाडी घाइते भएका हुन् ।
एपीएफका टेकराज अवस्थी र रुपिन्द्र गैरी घाइते भएका हुन् ।
यस्तै लुम्बिनीका विजय परियार घाइते भएका हुन् ।
लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल स्थगित भएको छ ।
खेलाडीकै विरोधपछि म्याट झिकेर खेलाइने भएको छ ।
राष्ट्रिय प्रतियोगिता भएतापनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन ।
भलिबलका लागि भनेर ल्याइएको म्याट सेपाकताक्रो खेलको लागि नवलपुर पुगेको छ ।
नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको थियो ।
अगाडि पनि भलिबलका तीन खेलाडी घाइते भइसकेका थिए । उद्धाटनको दिन गण्डकी र बागमतीबिचको खेलमा गण्डकीका प्रेम कुमालको खुट्टा नै भाँचिएको छ ।
त्यसबाहेक लुम्बिनीकै चिरञ्जीवी खड्का र एपिएफकै हेमन्त मल्ल घाइते भएका थिए । मल्ल अहिले ठिक भइसकेका छन ।