पोखरा । बागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ ।
विभागीय टोलि त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ पनि समूह बिजेता बनेको हो । हारका बावजुत आर्मी यस समूहको उपविजेता बनेको छ ।
म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा आइतबार भएको विभागीय भिडन्तमा आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै एपिएफ बिजेता बनेको हो ।आर्मीमाथि एपिएफले पहिलो सेट २५–२० जितेकोमा दोस्रो सेट २५–१९ ले गुमायो ।दोस्रो तथा तेस्रो सेट क्रमशः २५–२१ र २५–२३ को सेटमा जितेर अन्तिम ८ मा स्थान बनायो ।
आज भएको दोस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई २५–६, २५–८ र २५–७ को सेटमा पराजित गरि सहज जित निकाल्यो ।
यससँगै महिला भलिबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनलमा एपिएफ र लुम्बिनी, बागमती र सुदूरपश्चिम, नेपाल पुलिस र आर्मी तथा गण्डकी र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । चारै क्वाटरफाइनल सोमबार हुनेछ ।