पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा लुम्बिनी प्रदेश समूह 'ए' को उपबिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको हो ।
आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल लुम्बिनीले ३–० को सोझो सेटमा जितेको हो । पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको लुम्बिनीले दोस्रो सेट २५-२१ ले जितेको थियो । तेस्रो सेट २५-२० ले जित हात पारेर लुम्बिनीले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।
यस समूहबाट समूह बिजेताको रुपमा नेपाल पुलिस क्लब क्वाटरफाईनल पुगिसकेको छ । लिग कम नकआउटको आधारमा भईरहेको प्रतियोगितामा लुम्बिनीले पहिलो जितसँगै ३ अंक जोडेको छ ।
सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा नेपाल पुलिस क्लब,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।