पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल एपीएफ अपराजित रहँदै समूह 'सी' को विजेता रुपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको हो । आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल एपीएफले ३–० को सोझो सेटमा जितेको हो ।
पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५-१८ ले जितेको थियो । तेस्रो सेट २५-१० ले जित हात पारेर एपीएफले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।
यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुङ्गो भने सोमबार हुने सुदुरपश्चिम प्रदेश र एनआरएनए बीचको खेल पछि लाग्ने छ ।
लिग कम नकआउटको आधारमा भईरहेको प्रतियोगितामा एपीएफले शतप्रतिशत जितसँगै ६ अंक जोडेको छ। सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा नेपाल पुलिस क्लब,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।