पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली त्रिभुबन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
प्रदेश नम्बर एकको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५-१९ ले जितेको थियो । तेस्रो सेट २५-२३ ले जित हात पारेर आर्मीले सहज जित हात पारेको हो ।
लिग कम नकआउटको आधारमा भईरहेको प्रतियोगितामा आर्मीले जितसँगै ३ अंक जोडेको छ ।
आर्मी यस समूहको र्शीष स्थानमा रहेको छ । आर्मी र प्रदेश एक समूह 'बी' मा रहेका छन् । यस समूहमा यि दुई टोलीसँगै मधेश प्रदेश पनि रहेको छ । शनिबार नै अर्को एक खेल पनि हुने तालिका रहेको छ ।
सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा नेपाल पुलिस क्लब,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।