पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल एपीएफले विजयी सुरुआत गरेको छ ।
एनआरएनए स्पोर्टस एकेडेमीको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५-१५ले जितेको थियो । तेस्रो सेट २५-१३ ले जित हात पारेर एपीएफले सहज जित हात पारेको हो ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा एपीएफले जितसँगै ३ अंक जोडेको छ । एपीएफ यस समूहको र्शीष स्थानमा रहेको छ । एपीएफ र एनआरएनए समूह 'सी' मा रहेका छन् ।
यस समूहमा यि दुई टोलीसँगै सुदुरपश्चिम प्रदेश रहेको छ । शनिबार नै अन्य २ खेल पनि हुने तालिका रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल पुलिस क्लब,कर्णाली प्रदेश र लुम्बिनी प्रदेश समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।