पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।
बागमती प्रदेशलाई शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा गण्डकी प्रदेशले ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट १५–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–१८ र २५-१४ ले जितेको हो ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा गण्डकीले जितसँगै ३ अंक जोडेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सीधै क्वाटरफाइनल पुगेका छन् ।
दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।