काठमाडौं । कुनैपनि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नका लागि नेपाल भलिबल संघ (एनभीए) को अनुमति चाहिने भएको छ ।
नेपाल भलिबल संघले सोमबार सामाजिक संजाल फेसबुकबाट एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि संघको अनुमति लिनुपर्ने जनाएको छ ।
संघले प्रतियोगिताको मिति संघसँगको परामर्श र सहमतिमा तय गर्नु पर्ने समेत जनाएको छ ।
'कुनै पनि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नु अघि एनभीएको सहमति पत्र प्राप्त गर्न सबै जिल्ला, प्रदेश, क्लब र सम्बन्धित संस्थाहरूलाई जानकारी गराउन चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ, 'प्रतियोगिताको मिति एनभीएले परामर्श र सहमति लिएर तय गर्नु पर्नेछ ।'
संघले कुनै पनि क्लब वा संस्थाले बिना जानकारी एनभीएको लोगो राखेमा वा नाम उल्लेख गरेमा कारबाही गरिने र संघको कुनै पनि गतिविधिमा भाग लिन नपाईने गरि प्रतिबन्ध गरिने जनाएको छ ।
संघले राष्ट्रिय खेलाडीहरूलाई एनभीएले मान्यता नदिएको प्रतियोगिता नखेल्न आग्रह समेत गरेको छ ।