काठमाडौं । नेपाल भलिबल संघको केन्द्रिय अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । बुधबार भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको चार वर्षे नयाँ नेतृत्वका लागि उपाध्यक्ष मास्के र महासचिव चन्द चुनावी प्रतिस्पर्धामा थिए । अध्यक्षमा निर्वाचित चन्दले ७६ र मास्केले ५० मत प्राप्त गरिन् ।
महासचिव पदमा जितेन्द्रकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । उनले मनवीर छन्त्याललाई हराए । श्रेष्ठले ८५ र मनवीरले ३९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा समेत चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भए । उनले रिता कोईरालालाई पराजित गर्दै कोषाध्यक्षमा निर्वाचित भए । श्यामले ७८ मत प्राप्त गरे भने रिताले ४६ मत प्राप्त गरिन् ।
संघको बागमती प्रदेशबाट उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा गौतम लासिभा निर्वाचित भए । लासिभाले ६४ मत प्राप्त गरे । प्रतिद्धन्दी ज्याती केसीले ५९ मत प्राप्त गरिन् ।
सचिवमा प्रदेश १ बाट बिनोद श्रेष्ठले ६४ मत ल्याएर निर्वाचित भए । उनको प्रतिद्धन्दी विश्वराज धिमालले ४४ मत प्राप्त गरे । लुम्बिनी प्रदेशबाट निर्वाचित हुने सचिवमा झकबहादुर मिदेनले दिपक जीएमलाई हराए । झकबहादुरले ७३ र दिपकले ३७ मत प्राप्त गरे ।
संघको नयाँ नेतृत्व सहित ७ उपाध्यक्ष, महासचिव, ७ सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । संघमा दुई उपाध्यक्ष र १० जना सदस्य मनोनयनबाट आउनेछन् ।
मतदान अघिनै ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षहरुमा गण्डकीबाट याम गुरुङ, मधेशबाट उपेन्द्र यादव, सुदूरपश्चिमबाट हर्क सिंह धामी, कर्णालीबाट भरतबहादुर शाह, प्रदेश एकबाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भिम ओली निर्वाचित भएका थिए ।
सचिवमा कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेशबाट महम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमतीबाट सुनकेशरी माली निर्विरोध निर्वाचित भएका थिए । सदस्यमा अन्जु श्रेष्ठ, चन्द्र बदना राई, गङ्गा थापा श्रेष्ठ, जुनु पुन र प्रवीण श्रेष्ठ, कुमार राई, राज कुमार गुरुङ, राज बहादुर खड्का, जितेन्द्र श्रेष्ठ, दीपक लामा र दिनेश श्रेष्ठ निर्वाचित भए ।