काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
बबरमहलस्थित कार्की ब्याङक्वेटमा जारी संघको चुनावी साधारण सभाबाट ७ उपाध्यक्षमध्ये ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा गण्डकी प्रदेशबाट यम गुरुङ,मधेशबाट उपेन्द्र कुमार यादव, सुदुरपश्चिमबाट हर्क सिंह धामी,कर्णालीबाट भरत बहादुर शाह, प्रदेश १ बाट मदन खड्का र लुम्बिनीबाट भिम ओली निर्विरोध निर्वाचित भए ।
बागमती प्रदेशबाट उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । बागमतीमा गौतम लासिवा र ज्योति केसीबीच मतदान हुनेछ ।
सचिवमा लुम्बिनी र प्रदेश-१ मा प्रतिस्पर्धा हुनेछ । अन्य ५ प्रदेशमा सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै ११ सदस्यमा २२ जनाको उम्मेदवारी परेको छ ।
अब अध्यक्ष, एक उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष र सदस्य पदमा मतदान हुनेछ ।
नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल छन् भने चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।