काठमाडौं । नेपाल भलिबल संघको चुनावी साधारण सभा सुरु भएको छ ।
बबरमहलस्थित कार्की ब्याङक्वेटमा भलिबल संघको चुनावी साधारण सभा सुरु भएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले साधारण सभाको उद्घाटन गरे ।
संघको चुनावी साधारण सभाले चार वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल छन् भने चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा सचिव रहेका छन्त्याल नेपाली भलिबलको लोकप्रिय क्लब ढोरपाटन क्लबका संस्थापक हुन् भने कार्यसमिति सदस्य श्रेष्ठ भोजपुरबाट भलिबलमा प्रतिनिधित्व गर्छन् ।
कोभिड र नयाँ ऐनका कारण भलिबल संघको चुनाव दुई वर्ष ढिला गरि हुन लागेको हो । तत्कालिन समयमा १३ औं साग गेम्स तथा त्यसपछि कोभिड र राष्ट्रिय खेलकुद विकास ऐनका कारण समयमै संघको चुनावी साधारण सभा हुन पाएन ।
साधारण सभाको निर्वाचन प्रक्रिया समेत बुधबार नै अघि बढाउने तयारी छ । बन्द सत्र सकिए लगत्तै निर्वाचन प्रक्रिया अघि बढाउने संघको तयारी छ ।
संघको केन्द्रिय निर्वाचनमा १ सय ३१ जना मतदाता रहेका छन् । विवादका कारण बागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश नगरिने संघले जनाएको छ ।
वर्तमान कार्यसमिति, ७७ जिल्ला, प्रत्येक प्रदेशबाट दुई जना, रेफ्री, खेलाडी र क्लब गरि १ सय ३१ जनाले बुधबारको निर्वाचनमा मतदान गर्नेछन् ।