पोखरा । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता भदौ ३० देखि असोज १ गते सम्म आयोजना हुने भएको छ ।
माछापुच्छ्रेगाउँपालिकाको तत्वाधन तथा माछापुच्छ्रे गाउँपालिका भलिबल संघ कास्कीको आयोजनामा भुर्जुङखोलामा प्रतियोगिता आयोजना हुने भएको हो ।
युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले १२ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।
गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्ला ८५ वटै पालिकाबाट खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रथम हुने टिमले २ लाख र दोस्रो हुने टिमले नगद १ लाख २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनले जानकारी दिए ।
त्यस्तै सेमिफाइनल उपविजेता टिमलाई ३०÷३० हजार र विधागततर्फ उत्कृष्ट खेलाडीले ७÷७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहको छ ।