पोखरा । लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएका छन् ।
इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा सोमबार गण्डकीले आर्मीलाई १९–२५, २५–१५, २०–२५, २५–२३ र १७–१५ ले पराजित गर्यो ।
यस्तै, नेपाल पुलिस र एपीएफबीचको खेलमा पुलिसले ३–२ सेटमै नतिजा आफ्नो पक्षमा पारेको छ ।
पुलिसले एपिएफलाई २५–१९, १७–१५, २५–२१, २१–२५ र १५–१० मा हराएको हो ।
मंगलबार हुने पुरुषतर्फको पहिलो सेमिफाइनलमा गण्डकी र एपीएफबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र आर्मीबीच खेल हुनेछ ।
प्रतियोगितामा महिलातर्फ सहभागी चार टिममध्ये समूह ए बाट नेपाल पुलिस र समूह बी बाट न्यु डायमण्ड समूह विजेता बनेका छन् ।
सोमबारको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा हरायो । प्रतियोगितामा २५–१६, २५–१९ र २५–९ को नतिजा आएको हो ।
महिलातर्फ नै भएको अर्को खेलमा न्यु डायमण्ड विजयी भयो । डायमण्डले त्रिभुवन आर्मीको टिमलाई सोझो सेटमा २५–१६, २५–२२ र २५–१९ मा हराएको हो ।
मंगलबार हुने पहिलो सेमिफाइनलमा पुलिस र आर्मी तथा दोस्रो सेमिफाइनलमा न्यु डायमण्ड र गण्डकी प्रदेशको टिमबीच खेल हुनेछ ।
प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमले भाग लिएका छन् । महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।