पोखरा । लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ एपीएफले विजयी सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गर्दै एपीएफले विजयी सुरुआत गरेको हो । पहिलो सेटमा २०–२५ ले गुमाएको एपीएफले उत्कृष्ट पुनरागमन गरेको थियो । एपीएफले त्यसपछिको सेट २५–१९, २५–२२ र २५–१९ ले जितेको थियो ।
आईतबार नै त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको टिमबीचको खेल भने लाइट प्रोटेस्टको कारण एक सेट सकिएपछि स्थगित भयो । स्थगित खेल सोमबार बिहान फेरि हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङ्ले जानकारी दिइन् ।
यसअघि शनिबारको नेपाल पुलिस र मणिमुकुन्दबीचको खेलमा भने नेपाल पुलिसले ३–१ सेट जित हासिल गरेको थियो।
सोमबार महिला र पुरुषतर्फ गरी कुल ४ खेल हुनेछन् । पुरुषतर्फ पहिलो खेल आर्मी र गण्डकी, दोस्रो खेल एपिएफ र नेपाल पुलिसबीच हुनेछ भने महिलातर्फ पहिलो खेल नेपाल पुलिस र गण्डकी तथा अर्को खेल न्यु डायमण्ड र त्रिभुवन आर्मीबीच हुनेछ ।
अविरल वर्षाका कारण निर्धारित खेल तालिका पर सरेको छ । बिगतमा महिला भलिबल मात्र हुँदै आएकोमा यस पालि पुरुष राष्ट्रिय भलिबल पनि थपिएको हो । खेल लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भएको छ ।
प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमले भाग लिएका छन् । महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् भने पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिएको प्रतियोगिता संयोजक शुसिलकुमार श्रेष्ठले बताए ।
महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।