काठमाडौं । विश्वकै सर्वाधिक उचाईको अल्टिच्युडमा निर्माण भएको गल्फ कोर्स मुस्ताङ गल्फ कोर्सको औपचारिक उद्घाटन भएको छ ।
मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा निर्माण भएको मुस्ताङ गल्फ कोर्स शनिबार उद्घाटन भएको हो । ८१ वर्षिया महिला गल्फर डा रिता थापाले गल्फ कोर्सको उद्घाटन गरिन् ।
मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको रहेको छ । यसलाई गिनिज बुकमा नाम लेखाउने तयारी भईरहेको छ ।
यस अघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्स मानिन्छ । उक्त गल्फ कोर्स ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।
गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको सक्रियतामा संसद विकास कोषको आर्थिक सहयोग र लोमान्थाङ गाउपालिकाको सहयोगमा ९ होलको गल्फ कोर्स निर्माण गरिएको हो ।
गल्फ कोर्सको उद्घाटनको अवसरमा आयोजना भएको 'टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज' प्रतियोगिताको उपाधि श्याम तामाङले हात पारे । उनले २२ अंक जोडे ।
बलराम थापा २० अंक जोडेर दोस्रो र रबिन्द्र शैनी १४ अंक जोडेर तेस्रो भए ।
महिलातर्फको उपाधि सुष्मा सिंहले १५ अंक जोडेर हात पारिन् ।
रविन्द्र शैनी लगेस्ट ड्राइभ र श्याम सिम्खडाले क्लोजेस्ट टु द पिनको उपाधि जिते ।