काठमाडौं । एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ ।
बुधबार सम्पन्न भएको फाइनल खेलमा जुनियर ब्वाइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै हात पारेको छ । साथसाथै गर्ल्सको उपाधि भने निरुपति इंग्लिस बोर्डिङ हाइस्कुल काठमाडौंले जितेको छ ।
दोश्रो स्थान अन्तर्गत सिनियर व्याइजतर्फ सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुर, जुनियर व्याइजतर्फ युनिक स्कुल काठमाडौं र गर्ल्सतर्फ इनोभेटिभ स्कुल दोश्रो हुन बाध्य भए ।
विजयी स्कुल तथा टिमहरुलाई बुधबार नै एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् । कार्यक्रममा उपमेयर जोशीले सहभागी सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई प्रमाणपत्र पनि प्रदान गरिन् । साथै रेफ्रीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिन् । साथसाथै फेयर प्ले टिमहरुलाई पनि प्रमाणपत्र वितरण गरिन् ।
कार्यक्रममा उपमेयर जोशीले भक्तपुर नगरपालिकाले खेल क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर अगाडि वढिरहेको बताइन् । उनले चार वटा विधामा तालिम सञ्चालन गरिरहेको सुनाइन् । साथै नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद तथा अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको उनले जनाइन् ।
आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेललाई प्रतियोगितामा मात्रै सिमित नराखी सिक्ने थलोको रुपमा पनि लिनुपर्ने बताए । सके जित्ने, नसके सिक्ने ठाउँको रुपमा खेलकुद प्रतियोगितालाई लिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डशिप फष्ट र कप्युटिशन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जनाए । स्कुलहरुवीचको सम्वन्धलाई अझ प्रगाढ वनाउने उद्देश्यले पनि प्रतियोगिता गर्दै आएको उनले जनाए । कोभिड शिथिल भएको अवस्थालाई मध्यनजर गरी कोभिडको बेला दुई वर्ष स्थगन भएको प्रतियोगिता यो वर्ष गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलहरुबाट सहभागी भएको आयोजकले जनाएको छ । प्रतियोगिता भाद्र १ गते बुधबारदेखि सुरु भएको थियो ।