पोखरा । पोखरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा हरितालिका तीजको अवसरमा भदौ ११ देखि १४ गते सम्म लामाचौर कप प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
महिला राष्ट्रिय भलिबलतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।
पहिलो पटक हुन लागेको पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब सहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने खेलकुद समिति संयोजक सुशिलकुमार श्रेष्ठले जानकारी दिए ।
विजेताले १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले टिमले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधातर्फ आकर्षक पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नेछन् । त्यस्तै संस्थाले निर्माण गरेको ब्याडमिन्टन कोर्टको समेत उद्घाटन गरिने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले जानकारी दिइन् ।