काठमाडौं । आयोजक ग्रिनल्यान्ड र पृथ्वीले १५ औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१२ ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अंक योगदान गरिन् । बबिता घिमिरेको ९ अंक सहयोगमा पृथ्वीले लालीगुराँस नेसनल एकेडेमीलाई २०–१० ले हरायो ।
सिनियर ब्वाइजमा टीआईएले फेरिल्यान्डलाई २९–१८, सेन्ट जोसेफले स्कोलर्स होमलाई ३८–१० र गोल्डेनपिकले पृथ्वीलाई ३३–१७ ले हराए । टीआईएका स्वीकृत अधिकारीले १३, सेन्ट जोसेफका निकेश तामाङले १२ र गोल्डेनपिकका दिनेश रपालले १३ अंक जोडे ।
धापासीस्थित आफ्नै कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा गोल्डेनपिकले स्कोलर्स होमलाई १७–८, लालीगुराँसले ग्रिनल्यान्डलाई १९–११ र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले ओडिसीलाई २३–१३ ले पन्छाए । गोल्डेनपिकका डायमन्ड राईले ९ तथा बीएनएका सेशाङ गुरुङले ९ स्कोर गरे ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।
भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गर्ल्समा ९ टिम सहभागी छन् ।