काठमाडौं । एनआरएनए स्पोर्ट्स एकेडेमीको आयोजनामा भदौ अन्तिम साता पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराते च्याम्पियनसिप आयोजना हुने भएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जानकारी गराएको छ ।
सातदोबाटोस्थित कराते हलमा आयोजना हुने दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी भन्दा माथिको तौल समूह प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिस्पर्धा हुनेछ ।
नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरुको सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा बिभिन्न सात वटा प्रदेश, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल ए पि.एफ र एनआरएनसहित ११ टिमका करिब ३ सय १० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रत्येक वजन समूहमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५/५ हजार पाउने छन् ।
महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिनेछ ।