भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी

काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुदैछ । सोही निर्वाचनलाई लक्षित गर्दै मास्केले एक महिना अघिनै नेतृत्वमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
मास्केले उम्मेदवारी घोषणा कार्यक्रममा नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रम समेत प्रस्तुत गरेकी छिन् ।
उनले भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारको कार्यक्रमलाई अघि सारेकी छिन् । उनले नेपाली भलिबलको व्यवसायीकता र संस्थागत विकासका लागि नेतृत्वमा दाबी गरेको बताईन् ।
उनले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौं सहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
उनले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र नीजि क्षेत्र सहित विभिन्न रणनीतिक साझोदारलाई भलिबल खेलको विकाससंग जोड्ने एजेण्डा अघि सारेकी छिन् । भलिबललाई विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म जोड्नेदेखि चार वर्षमा चार लाख नेपालीलाई भलिबलको प्रत्यक्ष सञ्जालमा जाड्ने महत्वकाक्षी एजेण्डा उनले प्रस्तुत गरेकी छिन् ।
भलिबल विकासका लागि पाँच 'प' मा आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै मास्केले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनीक सुधारमा केन्द्रित रहेर अघि बढ्ने बताएकी छिन् ।
मास्के नेपाल भलिबल संघको वर्तमान कार्यसमितिकी उपाध्यक्ष हुन् । कार्यसमिति सदस्यको रुपमा १६ वर्ष अघि संघमा प्रवेश गरेकी उनले एक कार्यकाल कोषाध्यक्षको रुपमा समेत काम गरेकी छिन् ।

चुनावी घोषणा कार्यक्रममा संघका पूर्व अध्यक्षहरू दानबहादुर तामाङ, गंगाबहादुर थापा, प्रकाश थपलिया तथा सुदुरपश्चिम प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंह, प्रदेश एकका खेलकुद विकास बाेर्डका सदस्य सचिव हंशराज वाग्ले लगायत भलिबल सम्बद्ध अधिकारीले मास्केलाई समर्थन र शुभकामना दिएका थिए ।
प्रदेश नम्बर एकका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघको आसन्न नेतृत्वमा मास्केलाई समर्थन रहने उल्लेख गर्दै सर्वसम्मत नेतृत्व चयनमा जाेड दिए । भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका वाग्लेले पहिलो पटक महिला नेतृत्वकाे रूपमा मास्केले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै सर्व सम्मत नेतृत्व चयनका लागि प्रयास गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक सिंहले संघको नयाँ नेतृत्वमा मास्केलाई सहयोग रहने बताए । भलिबलका पूर्व खेलाडी समेत रहेका सिंहले भलिबल खेललाई तलसम्म पुर्याउन आवश्यक रहेको बताए । उनले भलिबलको विकासमा नेपाल भलिबल संघबाट कुनै काम नभएको उल्लेख गर्दै केही सिमित व्यक्तिको स्वार्थको कब्जामा भलिबल संघ रहेको बताए ।
संघका पूर्व अध्यक्ष दानबहादुर तामाङले भलिबलमा मास्केले अनवरत रुपमा योगदान गर्दै आएको उल्लेख गर्दै नेतृत्वमा जिताएर न्याय दिने समय आएको बताए । उनले सबै जना लागेर महिला नेतृत्वको रुपमा अघि सरेकी मास्केलाई जिताउन अपिल पनि गरे । भलिबल संघलाई केही ब्यक्तिले नीजि स्वार्थमा चलाईरहेको उल्लेख गर्दै तामाङले आफ्ना मान्छेलाई मात्र अवसर दिने प्रचलन रहेको गुनासो गरे ।
मास्केले यसअघिनै नेतृत्वमा दाबी गर्दै आएकी थिईन् । संघले केन्द्रिय निर्वाचनको मिति तय गरेपछि पत्रकार सम्मेलन गरेर उनले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी हुन् । 'सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी गरेका छौं । सबैलाई मिलाएर भलिबलको नयाँ टिम बन्नेछ । मेरो नेतृत्वमा सबैलाई अटाउने र समेट्ने प्रयास गर्नेछु ।' उनले कार्यक्रममा भनिन् ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

