काठमाडौं । नेपाल भलिबल संघले गण्डकी प्रदेशका सुजन चोखालसहित हेल्प नेपाल स्पोर्ट्स क्लबका दुई भारतीय खेलाडी विनित कुमार र रोहित कुमारलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको पूर्ण कार्यसमितिको बैठकले सेटर सुजनलाई एक वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यस्तै हेल्प नेपालका दुई स्पाइकरलाई एनभीए क्लब च्याम्पियनसिप र एनभीए क्लब लिगमा एक सिजनको प्रतिबन्ध लगाउने निर्णय गरिएको संघका उपाध्यक्ष निरोज मास्केले जानकारी दिईन् ।
गत वैशाखमा आयोजना भएको एनभीए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपको दौरान रेफ्रीलाई दुर्व्यवहार गरेको कारण उनीहरुलाई प्रतिबन्ध लगाईएको छ ।
रेफ्रीमाथि दुर्व्यवहार भएपछि संघले महासचिव जितेन्द्र बहादुर चन्दको नेतृत्वमा छानविन समिति बनाएको थियो । उक्त छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार तीनै खेलाडीलाई प्रतिबन्ध गरिएको हो ।