काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।
महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बन्द प्रशिक्षण स्थगित भएको जानकारी गराए ।
प्रशिक्षक भट्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशिक्षण रोक्न भनेको कारण स्थगित गरिएको बताए । उनले प्रशिक्षणमा रहेका खेलाडी घर फर्किएको समेत जानकारी गराए ।
'हामीलाई प्रशिक्षण रोक्नु भनेको कारण स्थगित गरिएको हो । के कारणले स्थगित गरिएको भन्ने कुरा राखेपलाई सोध्नुहोला । हामीलाई जानकारी छैन,' प्रशिक्षक भट्टले भने, 'स्थगित भएपछि खेलाडी घर गईसकेका छन् ।'
चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि पहिलो चरणको बन्द प्रशिक्षण अन्तर्गत महिला टोली बन्द प्रशिक्षणमा रहेका थिए ।
महिला भलिबल टोलीले जेठ ३० गतेबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । पहिलो चरणमा २४ खेलाडी सकिएको थियो।
राखेपले गठन गरेको हाई परफरमेन्स कमिटिका सदस्य महेन्द्र राईले पहिलो चरणको ४० दिने विशेष प्रशिक्षणको समय अवधि सकिएको कारण भलिबलसँगै २३ खेलको प्रशिक्षण स्थगित गरिएको जानकारी गराए ।
'राखेपले तयार गरेको २३ खेलको ४० दिनको विशेष प्रशिक्षणको पहिलो चरण सकिएको कारण भलिबलको पनि प्रशिक्षण रोकिएको हो,' उनले भने ।
राखेपले महिला भलिबलसँगै एसियन गेम्समा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षण सुरु गरेको थियो ।