काठमाडौं । अमेरिकाको भिसा नपाउँदा नेपालको वर्ल्ड एथलेटिक्स च्याम्पियनसिपको सहभागीता अन्यौलमा परेको छ । नेपालले वर्ल्ड एथलेटिक्स च्याम्पियनसिपमा म्याराथन विधामा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । तर अमेरिकाको भिसा प्राप्त गर्न नसक्दा नेपालको सहभागीता अन्यौलमा परेको हो ।
नेपालबाट वर्ल्ड च्याम्पियनसिपमा धावक कृष्णबहादुर बस्नेतले प्रतिस्पर्धा गर्दैछन् । नेपाल एथलेटिक्स संघले वर्ल्ड च्याम्पियनसिपमा सहभागीताका लागि धावक बस्नेत सहित संघका अध्यक्ष राजिव बिक्रम शाह, महासचिव धनवीर चौधरी र सचिव आरके विष्टको नाम सिफारिस गरेको थियो । तर चारै जनाले आईतबारसम्म भिसा प्राप्त गर्न सकेका छैनन् ।
वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप आगामी शुक्रबारबाट अमेरिकामा सुरु हुदैछ । जुलाई १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालले म्याराथनमा चुनौती पेश गर्दैछ । प्रधानसेनापति म्याराथनमा विजेता हुने खेलाडीलाई संघले वर्ल्ड च्याम्पियनसिपमा पठाउने घोषणा गरेको थियो । सोही अनुसार पछिल्लो सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुल्ला म्याराथनमा विजेता बनेका बस्नेतले वर्ल्ड च्याम्पियनसिप खेल्ने मौका पाएका हुन् ।
संघका सचिव आरके विष्टले अहिलेसम्म भिसाको टुङ्गो लाग्न नसकेको खेलपाटीलाई बताए । ‘गर्नुपर्ने काम पहिल्यैदेखि गरेको हो । मन्त्रीस्तरीय निर्णय गराएरै सहभागी हुन खोजेको हो । तर अहिलेसम्म भिसा प्राप्त भएको छैन । सोमबार पुन दुतावासले बोलाएको छ । हेरौ के हुन्छ ।’ उनले भने ।
वल्र्ड च्याम्पियनसिप सुरु हुन हप्ता दिनपनि बाँकी छैन । तर भिसा प्राप्त गर्न नसक्दा खेलाडी सहभागी हुने-नहुने अझै टुङ्गो लाग्न सकेको छैन ।